स्वाइन-फ्लु, बर्ड-फ्लुदेखि कोरोना महामारीसम्मको जोखिम झेल्दै गर्दा नयाँ नयाँ र पहिले भेटिएका दुर्लभ तर जोखिमपूर्ण भाइरस फेरि देखिएका खबर आईरहेका छन्।

हालै अमेरिकामा देखिएको मङ्की-पक्स भाइरस र चीनमा भेटिएको मङ्की-बी भाइरस अहिले चर्चामा छन्। समय समयमा देखिने यी चासोका भाइरस के हुन् र यी कति चिन्ताजनक छन्? यीनै विषयमा वैज्ञानिक प्रमाणका आधारमा केही तथ्य र यिनको जोखिम विश्लेषण:

अमेरिकामा हाल भेटिएको मङ्की-पक्स भाइरस

सेन्टर फर डिजीज कन्ट्रोल & प्रेभेन्सन (CDC) को रिपोर्ट अनुसार नाइजेरियाबाट भर्खरै फर्केका एक अमेरिकीमा दुर्लभ मङ्की-पक्स भाइरस संक्रमण भेटिएको छ। जुनोटिक (संक्रामक जीव जनावर या पंक्षीबाट मानवमा सरेर हुने) संक्रमणबाट त्यहाँ सन् २००३ मा ४७ जनामा देखिएको संक्रमणपछि यो पहिलो मानव संक्रमण हो।

सन् १९५८ मा जनावरमा र १९७० मा कंगोमा मानिसमा पहिलोचोटि भेटिएको यो गम्भीर रोग धेरैजसो मध्य र पश्चिम अफ्रिकी मुलुकमा भेटिन्छ। सन् १९९७ मा कंगोमै र २०१७ मा नाइजेरियामा सिमित क्षेत्रमा यो संक्रमण फैलिएको थियो।

सन् २०१९ मा सिंगापुरमा र ३ वर्षअघि अनि केही महिना पहिले बेलायतमा फाट्टफुट्ट केही व्यक्तिमा देखिएको यो रोग अहिले अमेरिकामा भेटिएको हो। अहिले अमेरिकाका २७ राज्यमा करिब २०० व्यक्तिमा सम्भावित संक्रमणको जाँच र निगरानी चलेको छ। हालकै अवस्थामा भने यसको आमजनसमुदायमा कमै खतरा आंकलन गरिए पनि संक्रमितबाट अर्को मानिसमा सर्नसक्ने हुनाले यसलाई अत्यन्तै महत्वका साथ हेरिएको छ।

के हो मङ्की-पक्स भाइरस र यसको संक्रमण?

मङ्की-पक्स भाइरस ‘पक्स’ समूहको दुई-तान्द्रे डीएनए बंशाणुसहित भाइरस हो। यो अधिकांशत: बाँदर, जङ्गली मुसा, लोखर्के आदिमा पाइन्छ। यो जीवाणु मान्छेमा जनावरबाट तिनको टोकाई या तिनको शरीर-रसमार्फत् अनि एक मान्छेदेखि अर्को मान्छेमा चाँही सम्पर्क, घाउको कोष या रस, श्वास-बुँद, तथा बिरामीका शरीर-रसयुक्त सामग्रीबाट सर्छ।

जीवाणु छिरिसकेपछि पछि सामान्यतया ५ देखि २१ दिनमा संक्रमण देखिने यो रोगको सुरूमा ज्वरो आउने, टाउको दुख्ने, डाबर आउने, लिम्फ ग्रन्थी सुन्निने हुन्छ। छालामा बिस्तारै डाबर बिग्रेर फुलेका पानी फोकाहरू बन्न पुग्छन्। बिफर-समूहकै भाइरस भए पनि यसको संक्रमण भने बिफरभन्दा धेरै कम गम्भीर हुन्छ।

दुईदेखि ५ हप्ता रहनसक्ने यो बिमारीमा सिडोफोभिर, ब्रिनसिड़ोफोभिर र इम्युनोग्लोब्युलिन नामका औषधी सामान्य प्रभाव राख्ने देखिए पनि २ देखि १०% सम्म मृत्युदर हुने हुँदा क्षेत्रीय हिसाबमा फैलेको बेला पनि महत्वका साथ हेरिन्छ।

सन् २०१९ मा एफडीए (FDA) ले यो रोगबिरुद्धको जिनिओस (JYNNEOS) नामको खोपलाई करिब ८०% प्रभावकारी भनि अनुमति दिएको छ।

चीनमा हाल भेटिएको मङ्की-बी (हर्पिज- बी) भाइरस

मे २७ मा चीनको बेइजिङमा एक अनुसन्धान केन्द्रमा कार्यरत भेटेरनरीयनको मृत्यु भयो जसको मस्तिष्क-मेरू-द्रव (सेरेब्रोस्पाइनल फ्लुइड), रगत र र्‍यालमा मङ्की-बी भाइरसको प्रमाण भेटियो। उनका समिप सम्पर्कका दुई व्यक्तिको जाँचमा भने टेस्ट नेगेटिभ आयो। यसलाई चीनले आफ्नो देशमा यो भाइरस संक्रमणको पहिलो व्यक्ति भनेको छ।

‘मङ्की-बी’ भाइरस संसारमा पहिलोचोटि सन् १९३२ मा रेसस बाँदरको टोकाइबाट बिरामी भै मर्न पुगेका चिकित्सकको स्नायुकोषमा पत्ता लागेको थियो। सन् १९९७ मा अमेरिकी अनुसन्धाता एलिजाबेथ ग्रीफिनको पनि यसको संक्रमणबाट मृत्यु भएको थियो। दुई वर्ष पहिले जापानमा दुई अनुसन्धातालाई यसको संक्रमणले सिकिस्त बनाएको थियो जो जापानमा मान्छेमा पहिलो हर्पिज-बी संक्रमण थियो।

अधिकांशत: उत्तर अमेरिकामा भेटिएको (शायद जाँचको उपलब्धता र जानकारीको कारण) र आजसम्म आधिकारिक रेकर्डमा ५० (रिपोर्टमा १०० भन्दा कम) व्यक्ति संक्रमित भएका मध्ये २१ जनाको मृत्यु भएको छ।

के हो त मङ्की-बी (हर्पिज- बी) भाइरस र यसको संक्रमण?

बंशाणुमा दुई-तान्द्रे डीएनए भएको ‘हर्पिज भाइरस’ ग्रुपमा पर्ने यो ‘हर्पिज-बी’ पनि भनिने ‘मङ्की-बी’ भाइरस प्राचीन-प्रकृति बाँदर (ओल्ड-वर्ल्ड मङ्की; सर्कोपिथेकस ग्रुपका बाँदर; जस्तै- मकाक (रेसस) बाँदर, लंगुर, कपुचिन, बबुन आदि) मा पाइने र यिनीहरुको समीप सम्पर्क, टोकाई, चिथोरेको घाउ या यिनको शारीरिक रस (जस्तै रगत, र्‍याल आदि) बाट मानिसमा सर्न सक्ने एक भाइरस हो।

अहिलेसम्म मानवबाट अर्को मानवमा संक्रमण एक जनामा मात्रै देखिएको यो भाइरस अनौठो उत्परिवर्तन नभएसम्म अहिलेको रुपमा बाँदर या यसका तन्तुरसको सम्पर्कको मानवलाई मात्रै सर्न सम्भव छ। तसर्थ यसको ठूलो जोखिम ल्याबमा यसकै तन्तुमा अध्ययन गर्नेहरू, भेटनरीयन व्यक्ति, चिडियाखाना कर्मचारी र जङ्गलमा समीप सम्पर्क आउनेलाई हुन्छ।

यो संक्रमण भएमा ३ देखि ३० दिनमा शुरूमा ज्वरो, जिउ दुख्ने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने र पछि स्नायु प्रणाली असर पारेर इन्सेफलाइटिस या मायालाइटिस जस्ता लक्षण देखिन्छन्। रोगको जटिलता रोक्न भाइरस-प्रतिरोधी औषधि (जस्तै- एसाईक्लोभिर) भए पनि यो औषधिको प्रभावकारिता अति कम पाइएको छ। यो भाइरस संक्रमणबाट ७० देखि ८०% सम्म मृत्युदर हुने हुनाले यसलाई खतरनाक मानिन्छ। यसको बिरूद्ध कुनै खोप बनेको छैन। मानव-मानव संक्रमण समान्यतया नहुने हुँदा बाँदरको सम्पर्कबाट बच्ने सावधानी अपनाए यो भाइरसको संक्रमण हुनबाट बचिन्छ।

गत वर्ष अमेरिकाको फ्लोरिडा राज्यको पार्कमा रहेका रेसस बाँदरमा यो भाइरस उल्लेख्य मात्रामा भेटिँदा यसबारे खुब चासो बढेको थियो। सबै बाँदरमा यस्ता खतरनाक भाइरस नभए पनि हामीले जतिसुकै मायालाग्दो जनावर भए पनि अनावश्यक तिनलाई नाचिढ्याउनु र तिनको सम्पर्कमा नआउनु बुद्धिमानी हुन्छ।

कोरोना, मङ्की-बी (हर्पिज-बी), र मङ्की-पक्स भाइरसको फरक

अप्रत्यासित उत्परिवर्तन र स्पेसिज-छलाङमार्फत् मानवमा महामारी रूप फैलिएको कोरोनाभाइरसको तुलनामा मङ्की-बी (हर्पिज-बी) र मङ्की-पक्सबीच धेरै अन्तर छन् (

उल्लेखनीय कुरा यो छ कि एक त मङ्की-बी (हर्पिज- बी), मङ्की-पक्स जस्ता डिएनए भाइरस कम उत्परिवर्तन (mutation) हुन्छन् भने आरएनए भाइरस (जस्तै कोरोना) अति चाँडो रुप बदल्छन्। अर्को महत्वपूर्ण कुरा मङ्की-बीको मानव संक्रमण डेड-इन्ड अर्थात् मान्छेबाट अर्को व्यक्तिमा नसर्ने खालको हुन्छ भने कोरोना चाँही मानव-मानव संक्रमण सर्ने हुनाले नै यस्तो भयानक रूपमा फैलिएको हो।

चासोका बिभिन्न बर्ड-फ्लु भाइरस

विश्व स्वास्थ्य संगठनका अनुसार गम्भीर मानिएको H7N9 बर्ड-फ्लु भाइरसबाट सन् २०१३ देखि अहिलेसम्म १५६८ जना संक्रमित मध्ये ६१६ जना (३९%) को मृत्यु भएको तथ्यांक छ। ताइवान, चीन, मंगोलियालगायत देशमा बढी पाइएका यी संक्रमण पनि एक मानवबाट अर्को मानवमा सरेको भने पाइएको छैन।

गत महिना चीनमा बर्ड-फ्लुकै एक प्रकृतिको ‘H10N3’ बर्ड-फ्लु भाइरसको मानवमै पहिलोचोटि संक्रमण भेटियो। जङ्गली चरा र हाँसमा पाइने यो भाइरस घरमा हुने पंक्षी (जस्तै कुखुरा) मा भने त्यति भेटिन्न। H10N3 बर्ड-फ्लु भाइरस कम खतरनाक प्रकृतिको फ्लु/इन्फ्लुएन्जा भाइरस हो।

त्यस्तै हालसम्म गत फेब्रुअरीमा उच्च खतरा रहेको H7N4 संक्रमण एक व्यक्तिमा र H5N8 नामको बर्ड-फ्लु भाइरस कुखुरापालनसम्बद्ध सात व्यक्तिमा भेटिएको भए पनि उनीहरूमा खास लक्षण देखिएको थिएन। यी भाइरसहरू पंक्षीबाट मानिसमा सरे पनि संक्रमित मानवबाट अर्को मानवमा सर्ने दरिलो प्रमाण अहिलेसम्म पाइएको छैन।

सार-संक्षेप

समयक्रममा नयाँ नयाँ या पहिले भेटिएका दुर्लभ भाइरस भेटिईरहन्छन्। तर हरेक चोटि ती खतरनाक-रूपमा फैलने हुन्नन्। धेरैजसो अवस्थामा डिएनए भाइरसमा ‘प्रुफ-रिडिङ’ पद्दति भएको हुनाले र आरएनए भाइरसमा ‘प्रुफ-रिडिङ’ पद्दति उल्लेख्य नहुने हुनाले आरएनए भाइरस बढी उत्परिवर्तन हुने गर्छन् र छोटो समयमै रूप फेर्छन्। जुनोटिक (संक्रामक जीव जनावर या पंक्षीबाट मानवमा सरेर हुने) संक्रमण सबै बेला मानवबाट अर्को मानवमा नसर्ने हुनाले यी सधैं चिन्ताजनक हुन्नन्।

फरक फरक भाइरसको प्रकृति भने फरक हुन्छ। विशेषगरी हामीले आफ्नो पेशागत हिसाबले या अध्ययन क्रममा या सामाजिक रुपमा जीवजनावर-पंक्षीसँग सामेल हुँदा विशेष ध्यान पुर्‍याइयो भने यी भाइरस संक्रमण हुन र फैलिनबाट जोगिन सक्छौं।

(लेखक डा. धर्मागत भट्टराई (एम.डी., डी.एम.) रोग तथा रोगप्रतिरक्षा विज्ञान (क्लिनिकल इम्युनोलोजी) मा विद्यावारिधि चिकित्सक हुन्।)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय